काठमाडौं । सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तु गरेका छन् । सम्बन्धित प्रदेशसभामा वार्षिक आय र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको हो ।
अन्य प्रदेशहरूले समयमै बजेट ल्याए पनि सुदूरपश्चिम प्रदेशले भने राति अवेर बजेट प्रस्तुत गरेको हो । सत्तारुढ दलहरूबीचमै विवाद हुँदा सुदूरपश्चिम प्रदेशमा राति साढे ११ बजेपछि बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।
यद्यपि, सुदूरपश्चिममा बजेट ल्याउँदा प्रतिपक्षी दलले भने बैठक बहिस्कार गरेको थियोे । बजेटको आकारको हिसाबले वाग्मती प्रदेश (६६.९३ अर्ब) सबैभन्दा अगाडि छ भने गण्डकी प्रदेश (३२.९९ अर्ब) सबैभन्दा पछाडि देखिएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १२.७४ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरेका हुन् ।
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३२ अर्ब ९९ सय करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको भन्दा एक अर्ब २ करोड बढी हो । चालु आवमा सरकारले ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट ल्याएको थियो ।
प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सरकारको आय–व्ययको (अनुमान) विवरण प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजारबराबरको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । मन्त्री शाहले प्रस्तुत गरेको बजेटमा कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेको छ । राति अबेर बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरिएको बताए ।