काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड रुपैयाँ र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा चालुतर्फ करिब २६ अर्ब ४ करोड र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
बजेटका लागि कर राजस्वबाट ३० अर्ब १५ करोड, अन्य राजस्वबाट ७ अर्ब ६३ करोड, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड, चालु आर्थिक वर्षको बचतबाट १२ अर्ब ७६ करोड र ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिएको छ।
चालु आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याइएकोमा ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बजेटले समाजवादउन्मुख अर्थतन्त्र निर्माण, दीगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेको छ। सामाजिक न्याय र आर्थिक समृद्धिलाई अघि बढाउँदै उत्पादन, रोजगारी र आम्दानीका क्षेत्र विस्तारमार्फत नागरिकमा विकास र समृद्धिप्रति विश्वास बढाउने उद्देश्य लिइएको छ। सुशासन, भौतिक पूर्वाधार र पूर्ण डिजिटल प्रदेशमार्फत गुणस्तरीय तथा परिणाममुखी सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।
प्रदेश अन्तर्गतका स्थानीय तहका लागि ६ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरिएको छ। अति विपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गरी वितरण गर्न २० करोड रुपैयाँ छुट्याइएको छ।