काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित एक सामुदायिक वनमा व्यापक आर्थिक हिनामिना र भ्रष्टाचार भएको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । भेरीगंगा नगरपालिका वडा नं. १३ मा रहेको साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूले रूख कटान तथा बिक्री वितरणको रकम हिनामिना गरेको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारा, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा रहेका छन् । उनीहरूले आपसी मिलेमतोमा वनको सम्पत्ति हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियत राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले प्रतिवादी त्रय लोक बहादुर महतारा, मान कुमारी पौड्याल र दल बहादुर बुढाले जम्मा ७ लाख १५ हजार ९ सय सोह्र रुपैयाँ पाँच पैसा बराबरको सरकारी एवं सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा हानिनोक्सानी पु¥याएको ठहर गरेको छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू. ७ लाख १५ हजार ९ सय सोह्र रुपैयाँ पाँच पैसा नै कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) र (ङ) बमोजिम कैद सजाय, बिगो बमोजिम जरिवाना र बिगो समेत असुल उपर गर्न मागदाबी राख्दै काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।