धनगढी । कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेको छ । टीकापुर नगरपालिकास्थित पथरैया नदीमा रहेको एउटा गुँडबाट घडियालका बच्चाहरू निस्किएका हुन् ।
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष समेत रहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार टीकापुर नगरपालिका–७, बैदी क्षेत्रमा एउटा माउ घडियालसँगै अहिले ३० देखि ३२ वटासम्म बच्चाहरू देखा परिरहेका छन् । सो गुँडमा दुई वटा अन्डा भने बिग्रेको अवस्थामा भेटिएको उनले जानकारी दिए ।
पछिल्लो केही वर्षयता पथरैयासहित कैलालीको मोहना र कर्णाली नदीमा दुर्लभ घडियालले प्रत्येक वर्ष बच्चा निकाल्दै आएका छन् । यो वर्ष अन्य नदीका सम्भावित क्षेत्रमा पोथी घडियाल देखिए पनि गुँड परीक्षण गरिएका ठाउँमा अहिलेसम्म बच्चा देखा नपरेको ढुङ्गानाले बताए ।
संरक्षणकर्मीका अनुसार घडियालले चैत महिनामा बालुवा खनेर उपयुक्त तापक्रम (३० देखि ३२ डिग्री सेल्सियस) भएको खाल्डोमा अन्डा दिने गर्छ र ६० देखि ९० दिनभित्र (जेठ अन्तिमदेखि असारसम्म) अन्डा फुटेर बच्चा निस्कन्छन् । तर, ढिलो गरी बच्चा निस्कँदा वर्षातको बाढीले अन्डा र बच्चा बगाउने जोखिम उच्च हुन्छ ।
पथरैया नदी क्षेत्रमा प्रत्येक वर्ष घडियालले बच्चा कोरल्ने गरे पनि प्राकृतिक चुनौतीका कारण थोरै मात्र जोगिने गरेका छन् । “यस क्षेत्रमा मगर गोहीको सङ्ख्या धेरै छ, जसले घडियालका धेरैजसो बच्चा मारिदिन्छन्,“ अध्यक्ष ढुङ्गानाले भने, “बल्लतल्ल जोगिएका बच्चालाई पनि बाढीले बगाउने भएकाले प्रत्येक वर्ष बच्चा निस्किए पनि घडियालको सङ्ख्या स्थिर जस्तै देखिन्छ ।“
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाल गोहीलाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ । संरक्षणका चुनौतीका बाबजुद दुर्लभ घडियालले लगातार बच्चा कोरल्नुलाई सकारात्मक रूपमा लिइएको छ ।