काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजमले समाजलाई दिशाहीन बनाउने बताएका छन्।
पार्टी प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यी दुवै प्रवृत्तिले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र दीर्घकालीन विचारधारात्मक विकासलाई कमजोर बनाउने टिप्पणी गरे। पोखरेलका अनुसार पछिल्लो समय “पुरानाले गर्न सक्दैनन्, नयाँलाई अवसर दिनुपर्छ” भन्ने धारणा बढ्दै गएको भए पनि त्यसले स्पष्ट वैचारिक आधार बिना समाधान दिन नसक्ने उनले दाबी गरे। उनले समाजलाई दीर्घकालीन दिशातर्फ अघि बढाउन विचारधारामा आधारित राजनीति आवश्यक रहेको उल्लेख गर्दै वैकल्पिक राजनीति मात्र प्रविधिमा टिक्न नसक्ने धारणा राखे। महासचिव पोखरेलले समाजलाई भ्रमित बनाउने प्रवृत्तिबाट सचेत रहँदै वैचारिक स्पष्टतासहित अघि बढ्नुपर्नेमा जोड दिए।