बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइमा धारिलो हतियार (चक्कु) प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । अज्ञात व्यक्तिको आक्रमणबाट ३६ वर्षीया ठुमरा विष्ट घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति करिब १ः३० बजे विष्ट आफ्नै घरको कोठामा सुतिरहेकी थिइन् । सोही समयमा आएका एक अपरिचित व्यक्तिले उनलाई भान्सा कोठामा बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेका थिए । घटनाका बेला घाइते विष्टका बुवा समुन्द्र बुढा पनि घरमै रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीको सहयोगमा घाइतेको उद्धार गरी कोल्टी आधारभूत अस्पताल पु¥याइएको थियो । त्यहाँ सामान्य उपचार गरिए पनि चोट प्रकृतिका कारण थप उपचारका लागि उनलाई बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । चिकित्सकका अनुसार हाल घाइतेको अवस्था मध्यम रहेको छ ।
आक्रमणकारीको पहिचान अझै खुल्न सकेको छैन । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिनुका साथै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।