काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रसाद निरौलाले नेपालको मौलिक अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार आयोजित ‘अभौतिक सांस्कृतिक सम्पदा दिवस २०८३’ तथा राष्ट्रिय सूचीकरण–सम्मान कार्यक्रममा बोल्दै उनले युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिअनुसार नेपालले आफ्ना दायित्वहरू कार्यान्वयन गर्दै आएको जानकारी दिए। सचिव निरौलाका अनुसार हालसम्म विभिन्न समुदायका सांस्कृतिक अभ्यासहरू राष्ट्रिय सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको छ। हालै पाँच वटा सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीमा समावेश गरिएको पनि उनले बताए। उनले परम्परागत जात्रा, पूजा तथा सांस्कृतिक अभ्यासहरू आधुनिक प्रभावसँगै ओझेलमा पर्ने जोखिम रहेकाले तिनको संरक्षण आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा उनले मौलिक संस्कृति संरक्षणलाई सरकार, समुदाय र सरोकारवाला सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।