काठमाडौँ। विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले यस वर्षको १२औँ अन्तर्राष्ट्रिय योग दिवस पवित्र तीर्थस्थल कैलाश–मानसरोवर क्षेत्रमा मनाउने भएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै संस्थाले नेपालबाट शान्ति, ध्यान र प्रेमको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित पहिलो पटक उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस आयोजना गर्न लागिएको जानकारी दिएको हो। कार्यक्रम आगामी असार ७ गते हुनेछ। संस्थाका अनुसार विगत एक दशकदेखि निःशुल्क योग, ध्यान, वैदिक शिक्षा तथा आत्मसाक्षात्कारसम्बन्धी गतिविधि सञ्चालन हुँदै आएका छन्। हाल संस्था ७० भन्दा बढी देशमा योग तथा ध्यान अभियान सञ्चालन गरिरहेको जनाएको छ।
योग दिवसका अवसरमा योगी आचार्य राजन शर्माको नेतृत्वमा असार ३ गते टोली कैलाश–मानसरोवरतर्फ प्रस्थान गर्नेछ। कार्यक्रममा विभिन्न देशका योग साधक, शिक्षक र अध्यात्मिक अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। संस्थाले कैलाश–मानसरोवरमा योग दिवस मनाउनुको उद्देश्य नेपाललाई योग र ध्यानको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नु रहेको जनाएको छ।