काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’ धम्कीयुक्त निर्देशन दिएका छन् ।
आइतबार निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँचिदिए हुन्छ भन्ने भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ।
अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिएका हुन् । उनले निर्माण व्यवसायीमाथि आतंक फैल्याउने गरी दिएको यो अभिव्यक्ति विवादित भएको छ।
बालेनका देश बनाउने टीमका उनै सदस्य लम्साल आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डको निरीक्षणमा पुगेका थिए। त्यसक्रममा उनले सडकबाट बिजुलीको पोल हटाउन ढिलाइ गर्ने ठेकेदारका खुट्टा भाँचिदिन भनेका हुन् ।
उनले यसो भनिरहँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयसहित सुरक्षा अधिकारी पनि थिए । सुरक्षा अधिकारीलाई साथमै लिएर निर्माणलाई तीव्रता दिन निर्देशन दिने क्रममा लम्सालले धम्कीको भाषा पनि बोले ।
‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ ? खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन’ उनले भने।
बालेनले चुनाव प्रचारका क्रममा ठेकेदारलाई रुखमा बाँधेर, पाता कसेर भए पनि विकासका काम गर्ने बताएका थिए ।