काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, विकास सहायता, तथा नेपालको शिक्षा क्षेत्रमा भइरहेको स्विस सहयोगबारे छलफल भएको हो। भेटमा विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका परियोजनाहरू प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
मन्त्री पोखरेलले नेपाल–स्विट्जरल्याण्ड सम्बन्ध ऐतिहासिक र सुदृढ रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा स्विस सरकारले दिँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले प्राविधिक शिक्षा, डिजिटलाइजेसन र समावेशी शिक्षामा थप सहकार्यको आवश्यकता रहेको बताए। यसैगरी, स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन परियोजनाहरूलाई एकीकृत गर्ने योजना रहेको जानकारी पनि बैठकमा दिइएको छ। राजदूत मेउलीले नेपाल सरकारको शिक्षा सुधार प्रयासमा स्विस सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।