काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र समृद्धि रहेको बताएका छन्।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राज्य संयन्त्रलाई समयानुकूल, जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए। राष्ट्रपति पौडेलले कर्मचारीतन्त्रलाई अनुशासित, जिम्मेवार, नैतिक र परिणाममुखी बनाउन सके मात्रै सुशासन प्रभावकारी हुने उल्लेख गरे। उनले प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिए। उनका अनुसार लोकसेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा सरकारी सेवामा सक्षम कर्मचारी छनोट गर्दै आएको छ, जसले लोकतान्त्रिक प्रणालीप्रति युवाहरूको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। राष्ट्रपतिले आयोगलाई भविष्यमा थप आधुनिक, प्रविधिमैत्री र वैज्ञानिक बनाउँदै कर्मचारी छनोट प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिएका छन्।