काठमाडौँ। भारतीय पक्षले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि चिया उद्योगहरू बन्द हुन थालेका छन्।
उद्योगीका अनुसार भारतले गुणस्तर जाँचका नाममा पछिल्लो डेढ महिनादेखि नेपाली चिया निर्यातमा कठिनाइ बढाएको छ। यसका कारण सोमबारदेखि इलामका अर्थोडक्स चिया उद्योगहरू बन्द भएका छन् भने झापाका सीटीसी चिया उद्योगहरू आगामी ४ असारदेखि बन्द हुने भएका छन्। व्यवसायीहरूले भारतीय चिया बोर्डद्वारा लागू गरिएको नयाँ मापदण्ड र लामो परीक्षण प्रक्रियाका कारण निर्यात प्रक्रिया अत्यन्तै ढिलाइ भएको बताएका छन्। परीक्षण रिपोर्ट आउन १५–२० दिन लाग्ने र कतिपय अवस्थामा चिया अस्वीकृत वा नष्ट हुने जोखिमका कारण भारतीय आयातकर्ताहरूले नेपाली चिया खरिद गर्न छाडेको उनीहरूको भनाइ छ।
नेपाल चिया उत्पादक संघका अनुसार चिया बिक्री ठप्प हुँदा उद्योगमा भण्डारण गरिएको उत्पादन समेत बिग्रने अवस्थामा पुगेको छ। उत्पादनको करिब ९० प्रतिशत हिस्सा भारतमा निर्यात हुँदै आएकोमा अहिले बजार पूर्ण रूपमा प्रभावित भएको छ। उद्योग बन्द भएपछि पहाडी र तराई क्षेत्रका करिब ८० भन्दा बढी चिया उद्योग प्रभावित भएका छन् भने हजारौं मजदुर र किसान प्रत्यक्ष रूपमा मारमा परेका छन्। उद्योगीहरूले चिया क्षेत्रको संकट समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।