काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको त्याग र संघर्षकै आधारमा वर्तमान राजनीतिक व्यवस्था अघि बढेको दाबी गरिन्। तर अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको उनको आरोप छ। खतिवडाले विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख )एसपी) आएपछि यस्ता घटनामा वृद्धि भएको गुनासो आएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्। उनका अनुसार सरकारले यसअघि झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको छ। उनले निर्दोष युवालाई फसाउने प्रवृत्ति तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याइन्। सांसद खतिवडाले युवाको त्याग र समर्थनबिना राजनीतिक स्थायित्व सम्भव नहुने भन्दै जेनजी आन्दोलनसँग सम्बन्धित सबै झुटा मुद्दा यथाशीघ्र खारेज गर्न सरकारसँग आग्रह गरेकी छन्।