बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. ४ को कार्यालयमा तोडफोड गरी चोरी भएको छ । आइतबार राति अज्ञात समूहले वडा कार्यालयको छतको ढोका फुटाएर सरकारी सम्पत्ति चोरी गरेको हो ।
वडाध्यक्ष तर्कराज भट्टका अनुसार चोरहरूले छतको काठको ढोका फुटाएर कार्यालय भित्र प्रवेश गरेका थिए । “छतबाट भित्र छिरेर उनीहरूले सिसिटिभी क्यामेराको तार चुँडाएका छन् र चार्जरसहित एउटा ल्यापटप चोरी गरेका छन्,“ अध्यक्ष भट्टले भने, “यसका साथै कार्यालयका अन्य कम्प्युटरका तारहरू पनि चुँडालेर क्षति पु¥याइएको छ ।“
वडा कार्यालयमा चोरी र तोडफोड भएको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा खटिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले घटनाको पुष्टि गर्दै चोरीमा संलग्नहरूको खोजी तथा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।