काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले युवाहरूले आफ्नो भविष्य निर्माण गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले काम थालेको बताएका छन्। उनले आगामी वर्षको बजेटलाई त्यस अभियानको प्रारम्भिक आधारका रूपमा प्रस्तुत गरे। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै मन्त्री वाग्लेले विगत डेढ दशकभन्दा बढी समयदेखि युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्दै अब देशभित्रै सम्भावना सिर्जना गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनका अनुसार आगामी आर्थिक वर्षको बजेटमार्फत त्यसको आधार तयार पारिएको छ र आगामी पाँच वर्षभित्र यसको ठोस परिणाम देखिने अपेक्षा गरिएको छ।
मन्त्री वाग्लेले बजेटमा युवा उद्यमशीलता प्रवर्द्धन, कर प्रणालीमा सुधार, व्यवसायीलाई राहत, सरकारी सेवाको डिजिटल रूपान्तरण तथा सुशासनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। यी कदमहरूले आर्थिक गतिविधि विस्तार गर्दै रोजगारी र लगानीको वातावरण बलियो बनाउने उनको विश्वास छ। युवालाई उद्यमशीलतामा आकर्षित गर्न करसम्बन्धी केही सहुलियतका व्यवस्था गरिएको उल्लेख गर्दै उनले न्यून आय भएका युवालाई करको झन्झटबाट राहत दिने नीति लिइएको जानकारी दिए। साथै, कर तथा बक्यौता सम्बन्धी समस्यामा परेका उद्योगी–व्यवसायीलाई पुनः व्यवसाय विस्तार गर्न सहज हुने खालका व्यवस्था पनि बजेटमा समावेश गरिएको बताए। उनले युवाका नवीन सोच, सिर्जनशीलता र व्यवसायिक योजनालाई प्रोत्साहन गर्ने उद्देश्यले बजेटमा विभिन्न कार्यक्रम तथा योजना समेटिएको उल्लेख गर्दै त्यसको अधिकतम लाभ लिन युवाहरूलाई आग्रह गरे।