काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा काठमाडौँलाई खुला, जीवन्त र रचनात्मक सहरका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ। महानगरले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने रणनीति लिएको जनाएको छ।
आइतबार सम्पन्न महानगरको १९औँ नगरसभामा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणलाई प्राथमिकतामा राखिएको छ। महानगरभित्र रहेका मठ, मन्दिर, बहाल, बही, ढुंगेधारा, पोखरी, गुम्बा तथा अन्य ऐतिहासिक संरचनाको डिजिटल अभिलेखीकरण, नक्सांकन, मर्मत र जीर्णोद्धार गरिने उल्लेख गरिएको छ। महानगरले काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ। यसका लागि पुराना बस्तीहरूमा होमस्टे सञ्चालनलाई प्रोत्साहन गरिनेछ, जसबाट पर्यटकले स्थानीय संस्कृति, जीवनशैली र परम्परागत परिकारको अनुभव लिन सक्नेछन्। पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्ने, परम्परागत खानाका महोत्सव तथा कला–संस्कृतिसम्बन्धी प्रदर्शनी सञ्चालन गर्ने कार्यक्रम पनि समेटिएको छ।
यस्ता गतिविधिले काठमाडौँको मौलिक कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरिएको छ। त्यसैगरी, इन्द्रजात्रा र सेतो मच्छिन्द्रनाथ जात्राजस्ता महत्वपूर्ण सांस्कृतिक उत्सव सञ्चालन हुने मार्गमा सम्पदा–मैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ। महानगरले जात्रा, पर्व, बाजागाजा र परम्परागत सांगीतिक सम्पदाजस्ता अमूर्त सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गराउन पहल गर्ने जनाएको छ। सांस्कृतिक तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न ‘स्वनिगः विश्वविद्यालय’ स्थापनाको पहल गरिनेछ भने वातावरण संरक्षणलाई समेत जोड दिँदै चराचुरुङ्गीमैत्री अभियान सञ्चालन गरिनेछ। साथै, ऐतिहासिक ढुंगेधारा र पोखरीहरूको संरक्षणमार्फत जल–पर्यटनको अवधारणालाई पनि अगाडि बढाइने महानगरको योजना छ। महानगरका यी कार्यक्रमले काठमाडौँको मौलिक पहिचान संरक्षण गर्दै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।