काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै सेवा विस्तार र सुधारका विभिन्न योजना अघि सारेको छ।
आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवामा जोड दिइएको छ। महानगरले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता वृद्धि गर्दै आधुनिक प्रविधिमा आधारित सेवा विस्तार गर्ने योजना बनाएको छ। साथै, स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि आयुर्वेद, योग, व्यायाम, प्राणायाम र ध्यान कार्यक्रमलाई पनि विस्तार गरिने उल्लेख छ।निःशुल्क एम्बुलेन्स सेवासँगै साँघुरा सडक र ट्राफिक समस्यालाई ध्यानमा राख्दै बाइक एम्बुलेन्स सेवा सुरु गर्ने योजना पनि अघि सारिएको छ।
त्यस्तै, मृगौला रोगका बिरामीका लागि डायलिसिस सेवामा सहजीकरण गरिनेछ भने मातृ, शिशु तथा प्रजनन स्वास्थ्य सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक स्थानमा स्तनपान तथा हेरचाह कक्ष (ब्लक) स्थापना गर्ने योजना पनि समावेश छ। स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर सुनिश्चित गर्न नियमन र अनुगमन कडा बनाइने महानगरले जनाएको छ। साथै विपन्न तथा असहाय नागरिकका लागि १० प्रतिशत निःशुल्क उपचार सेवाको व्यवस्था प्रभावकारी रूपमा लागू गरिनेछ। यसैगरी, महानगर अस्पताल निर्माण गर्ने योजना पनि अघि सारिएको छ। मानसिक स्वास्थ्य सेवाका लागि मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, नियमित स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम पनि समेटिएको छ।