काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन्। गएराति काठमाडौँबाट प्रस्थान गरेका मन्त्री खनाल आइतबार अपराह्न बेइजिङ ओर्लिएका हुन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार स्थानीय समय अनुसार दिउँसो विमानस्थल पुगेका मन्त्री खनाललाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले भव्य स्वागत गरेका थिए।
परराष्ट्रमन्त्री खनालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले आजै (आइतबार) साँझ स्वागत समारोहको आयोजना गर्दैछ। सो क्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग समसामयिक विषयमा अन्तरक्रिया समेत गर्ने तालिका रहेको छ।
भ्रमणका क्रममा नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले नेपाली दूतावासद्वारा बेइजिङमा आयोजना हुने विशेष लगानी सम्मेलनमा मन्त्री खनाल मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्। सोही अवसरमा उनले चिनियाँ उद्यमी तथा प्रतिष्ठित व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावनाबारे प्रत्यक्ष छलफल गर्ने कार्यक्रम छ।
चीन बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी सहकार्य र हितका विषयमा औपचारिक वार्ता गर्नेछन्। यसका साथै उनले चीन सरकारका अन्य उच्च राजनीतिक नेतृत्व र अधिकारीहरूसँग पनि बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्नेछन्।
उच्चस्तरीय भेटघाट र कूटनीतिक संवाद सकेर परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।