काठमाडौँ। ऊर्जा तथा अर्थतन्त्रका विज्ञहरूले नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउन सके क्षेत्रीय समृद्धि र आर्थिक विकासका नयाँ अवसरहरू सिर्जना हुने बताएका छन्।
ऊर्जा, व्यापार, पर्यटन तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्न सके तीनै देशले साझा लाभ प्राप्त गर्न सक्ने उनीहरूको धारणा छ। एएनआईसँगको कुराकानीमा नेपाल फाउन्डेसनका ऊर्जा विज्ञ विवेकराज कँडेलले वर्तमान विश्व परिवेशमा कुनै पनि देश एक्लै अघि बढ्न नसक्ने भन्दै आर्थिक कूटनीतिमा आधारित साझेदारीको आवश्यकता औंल्याए। उनका अनुसार आपसी संवाद र सहकार्यले क्षेत्रीय विकासलाई नयाँ गति दिन सक्छ। कँडेलले नेपालको जलविद्युत् तथा स्वच्छ ऊर्जाको सम्भावनाले बंगलादेशको औद्योगिक क्षेत्रलाई ऊर्जा आपूर्ति गर्न सक्ने बताए। त्यस्तै, भारतले ट्रान्जिट राष्ट्रका रूपमा पूर्वाधारको उपयोग गरेर आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ।
उनले क्षेत्रीय सहकार्य भावनात्मकभन्दा पनि आर्थिक लाभमा आधारित हुनुपर्नेमा जोड दिए। कुनै पनि देशले केवल सद्भावका आधारमा नभई पारस्परिक फाइदालाई केन्द्रमा राखेर सहकार्य गर्नुपर्ने उनको धारणा थियो। पर्यटन क्षेत्रलाई पनि त्रिपक्षीय साझेदारीको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उनले सहज आवागमन र यातायात सञ्जालको विस्तारले तीन देशबीच पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने बताए। कँडेलका अनुसार क्षेत्रीय सम्पर्क सुदृढ बनाउन यातायात, व्यापारिक पहुँच र जनस्तरको आवागमनलाई सहज बनाउनु आवश्यक छ। यसले आर्थिक गतिविधि विस्तारसँगै लगानी र रोजगारीका अवसरहरू पनि बढाउनेछ।
हाल बंगलादेशमा आयोजित आर्थिक कूटनीति सम्बन्धी सम्मेलनमा सहभागी रहेका कँडेलले नेपाल र बंगलादेश दुवै देशमा नयाँ जनादेशसहितका सरकारहरू रहेकाले आर्थिक सहकार्यलाई थप मजबुत बनाउने अवसर रहेको बताए। उनले आर्थिक कूटनीतिको केन्द्रमा नागरिकको हित र साझा समृद्धिलाई राख्नुपर्ने उल्लेख गर्दै ऊर्जा क्षेत्रलाई त्यसको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। कँडेलले नेपाल, भारत र बंगलादेशबीच आर्थिक एकीकरण र सहकार्य विस्तार गर्न सके क्षेत्रीय विकास, व्यापार वृद्धि र समृद्धिका लागि महत्वपूर्ण अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।