झापा । झापाको मेचीनगर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। मेचीनगर नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयको ठीक अगाडि हात्तीले आक्रमण गर्दा स्थानीय ६२ वर्षीया पद्मा पौडेलको ज्यान गएको हो।
प्रहरी र स्थानीयका अनुसार आइतबार बिहान पौडेल आफ्नै घरबाट बाहिर निस्कने क्रममा नजिकैको जङ्गल क्षेत्रबाट अचानक निस्किएको जङ्गली हात्तीले उनलाई आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा र पछार्दा गम्भीर घाइते भएकी पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनालगतै स्थानीयबासीले वडा कार्यालय वरपर सुरक्षा र जङ्गली हात्ती नियन्त्रणको माग गर्दै विरोध जनाएका छन्। घटनास्थलमा प्रहरी टोली पुगेर कानुनी मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।
झापाको मेचीनगर र आसपासका क्षेत्रमा भारत तथा स्थानीय जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले हरेक वर्ष जनधनको ठूलो क्षति पु¥याउँदै आएको छ।