धनगढी । कैलालीको गोदावरीमा वन कर्मचारीहरूले सडक किनारमा पार्क गरिराखेको टेम्पोलाई जानाजानी भीरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि डिभिजन वन कार्यालय कैलालीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलाइएका दाबीहरू भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पारेको हो।
डिभिजन वन कार्यालयका अनुसार उक्त क्षेत्र पर्यावरणीय दृष्टिकोणले अत्यन्तै संवेदनशील चुरे क्षेत्रभित्र पर्ने गोदावरी सामुदायिक वन हो। वन प्रशासनले लामो समयदेखि त्यहाँ भइरहेको अवैध टहरा निर्माण तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रणका लागि अभियान चलाउँदै आएको छ।
वन कार्यालयले सामाजिक सञ्जालमा ’टेम्पो’ भनिएको वस्तु वास्तवमा सञ्चालनयोग्य सवारी साधन नभई चक्का, इन्जिन र अन्य पार्टपूर्जा पूर्ण रूपमा निकालिएको र ढकालो समेत गालेको एउटा फलामे अवशेष (कवाडी) मात्रै रहेको दाबी गरेको छ। उक्त संरचनालाई वन क्षेत्र अतिक्रमण गरी अवैध पसल सञ्चालन गर्ने उद्देश्यले त्यहाँ राखिएको विज्ञप्तिमा उल्लेख छ।
कार्यालयका अनुसार सो संरचना हटाउन एक महिनाअघि नै निर्देशन दिइएको थियो। सो क्षेत्रमा रहेका अन्य १० वटा छाप्राहरू हटाइए पनि सम्बन्धित व्यक्तिले उक्त फलामे बडी नहटाएपछि वन कर्मचारीले त्यसलाई सम्बन्धित व्यक्तिको घरसम्म पु¥याइदिएका थिए। तर, व्यवसायीले पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गर्न खोजेका थिए।
अतिक्रमण हटाउने अभियानका क्रममा वन टोलीले उक्त संरचना हटाउन खोज्दा सम्बन्धित पक्षले अवरोध गरेको वन कार्यालयको भनाइ छ। त्यसक्रममा बल प्रयोग गरी हटाउने प्रयास हुँदा भिरालो र असन्तुलित भू–भागका कारण उक्त फलामे अवशेष अनियन्त्रित भई भीरबाट खसेको दाबी डिभिजन वन कार्यालयले गरेको छ।
वन कार्यालयले संरक्षण र अतिक्रमण नियन्त्रणका लागि गरिएको कानुनी कारबाहीलाई अतिरञ्जित नगर्न र सत्यतथ्य बुझेर मात्रै सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ। यद्यपि, स्थानीयबासीले भने वन कर्मचारीको व्यवहार असहिष्णु र क्रूर भएको भन्दै विरोध जनाइरहेका छन्।
