काठमाडौँ। सर्लाहीको बागमती नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्।
बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकमा बिहान करिब ६ः१० बजे बिग्रिएर रोकिएको ईभी माइक्रोलाई अटोको सहायताले टोचन गरी बरहथवातर्फ लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बा.प्र.०३–००१ ज ०७७६ नम्बरको ईभी माइक्रोलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले तानेर लैजाने क्रममा पैदलयात्री बागमती–९ की ५५ वर्षीया जयकुमारी देवी र बागमती–१० की ४० वर्षीया पुनमदेवी यादवलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी जयकुमारी देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घाइते पुनमदेवी यादवको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ। घटनापछि अस्थायी प्रहरी पोस्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। साथै, ईभी माइक्रो चालक हरिवन नगरपालिका–७ का ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ का ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।