धनगढी। डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय गरेको भन्दै एक सर्वसाधारणको टेम्पो भीरबाट खसालिदिएपछि चौतर्फी विरोध सुरु भएको छ ।
गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले जीविकोपार्जनका लागि सामान ओसारपसार गर्न प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएका हुन् ।
पीडित धामीका अनुसार गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट वन कर्मचारीले सामान झारेर भीरतर्फ खसालिदिएका थिए ।
‘सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्दा पनि कसैले सुन्नुभएन,’ धामीले भनिन्, ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ ।’
उनले आफूले गल्ती गरेको भए कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्नेमा राज्यको निकायले रोजीरोटीको आधार नै नष्ट गरिदिएको भन्दै कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्याइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल र स्थानीय स्तरमा यो कदमको विरोध गर्दै कारबाहीको माग भइरहेको छ । यता, डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सो क्षेत्रमा ४७ वटा अवैध संरचना हटाइएको जनाएको छ
घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा छानबिन सुरु गरेको छ । यो घटनाको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।