काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुली ले सुशासन, पारदर्शिता र प्रणाली सुधारलाई प्राथमिकता दिएर मात्रै समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।
नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद्का विभिन्न समितिमार्फत नीतिगत सुधारका प्रयासहरू भइरहेको जानकारी दिए। नयाँ पुस्ताका राजनीतिक नेतृत्वले देशलाई सही दिशामा अघि बढाउने जिम्मेवारी लिएको उल्लेख गर्दै उनले जनविश्वासलाई परिवर्तनको मुख्य आधार बनाउनुपर्ने धारणा राखे। सांसद पराजुलीले संसद्को प्रभावकारी भूमिकामार्फत नीति निर्माण र सुधारका केही सकारात्मक उदाहरण स्थापित भएको बताए। जनताले राजनीतिप्रति राखेको भरोसालाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
उनका अनुसार समृद्ध राष्ट्र निर्माणको आधार सुशासनयुक्त समाज हो। भ्रष्टाचार सुशासनको सबैभन्दा ठूलो चुनौती भएकाले त्यसको नियन्त्रणका लागि प्रणालीगत सुधारमा केन्द्रित भएर काम गर्नुपर्ने उनले बताए। नेपालको प्रशासनिक र शासकीय संरचना लामो समयदेखि विभिन्न विकृति र विसंगतिबाट प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले त्यसको असर निजी क्षेत्रसम्म पुगेको बताए। व्यवसाय सञ्चालनका क्रममा देखिएका केही गलत अभ्यास समयसँगै संस्थागत समस्याका रूपमा विकसित भएको उनको भनाइ थियो। उनले विगतमा नेतृत्व तहका व्यक्तिहरूले आफ्ना निकटस्थ वा प्रभावशाली व्यक्तिमाथि कारबाही गर्न नसक्दा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको टिप्पणी गरे। यही कारणले राज्य प्रणालीमा अपेक्षित सुधार हुन नसकेको उनको धारणा थियो।
तर अहिलेको अवस्थामा सुधारको सुरुवात भएको दाबी गर्दै उनले सरकारले कानुनी शासन र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै उनले प्रभावशाली व्यक्तिहरूलाई पनि कानुनी दायराभित्र ल्याउन सके मात्र भ्रष्टाचारविरुद्धको अभियान सफल हुने उल्लेख गरे। सांसद पराजुलीले निजी क्षेत्रलाई पनि सुशासन प्रवर्द्धनको अभियानमा सक्रिय सहभागी बन्न आग्रह गरे। सरकार, निजी क्षेत्र र नागरिक समाजबीच आपसी विश्वास र सहकार्य बलियो बनाउन सके देशलाई आर्थिक समृद्धि र सुशासनको दिशामा अगाडि बढाउन सहज हुने उनको विश्वास छ।