काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वप्रति आफ्ना असन्तुष्टि र सुझावहरू प्रस्तुत गर्ने तयारी गरेको छ।
कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको सहभागिता रहने उक्त कार्यक्रममा कांग्रेसका नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार ले सम्बोधन गर्ने कार्यक्रम छ। तीन प्रभावशाली नेताको संयुक्त उपस्थितिलाई कांग्रेसभित्रको शक्ति सन्तुलन र भावी रणनीतिसँग जोडेर हेरिएको छ। कोशी प्रदेश कांग्रेसका महामन्त्री तथा इतर पक्षका नेता भूपेन्द्र राईका अनुसार पार्टी संगठनभित्र देखिएका कमजोरीहरू सुधार गर्न र नेतृत्वलाई कार्यकर्ताको भावना तथा अपेक्षाबारे सचेत गराउन भेला आयोजना गरिएको हो।
यस्तै, पूर्व मुख्यमन्त्री केदार कार्की ले हाल जारी क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त प्रक्रिया प्राविधिक रूपमा कमजोर रहेको र यसले पार्टीको विश्वसनीयतामा असर पार्न सक्ने बताएका छन्। संस्थापन इतर समूहले यस्तै प्रकारका कार्यक्रम सातै प्रदेशमा सञ्चालन गर्दै पार्टी नेतृत्वमाथि दबाब बढाउने रणनीति अघि बढाएको छ। क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्धारित समय समाप्त भइसके पनि इतर समूहका केही नेताले भने अझै आफ्नो सदस्यता अद्यावधिक नगरेको बताइएको छ।