काठमाडौं। नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो।
बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य, तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित बुच्चाकोटमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रोशी गाउँपालिका-६ का ७३ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानका ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी-७ की ३४ वर्षीया फूलमाया तामाङ, सोही स्थानकी ६० वर्षीया माया तामाङ, रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भई त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका-४ निवासी २२ वर्षीय सुमी तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सेल्फीडाँडाबाट तल खसेको थियो ।
दुर्घटनास्थलबाट आठै जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनका अनुसार दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।