काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा ले नेपालमा विपद् व्यवस्थापनका लागि आवश्यक नीति र कानुनी संरचना रहे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको बताएका छन्।
शुक्रबार आयोजित ‘द ग्रिन टेबल’ कार्यक्रममा ‘विपद् व्यवस्थापन स् नीति निर्माणदेखि प्रभावकारी कार्यान्वयनसम्म’ विषयमा आयोजित छलफलपछि बोल्दै थापाले नीति निर्माणको पक्ष सबल भए पनि कार्यान्वयन तहमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताए। उनले विपद् व्यवस्थापनका सवालमा राजनीतिक नेतृत्वको नियतभन्दा पनि बुझाइ र प्राथमिकतामा केही कमजोरी रहेको हुन सक्ने धारणा व्यक्त गरे। उनका अनुसार नीतिहरू कागजमा सीमित नरही व्यवहारमा उतार्न सकिए मात्र त्यसको वास्तविक प्रभाव देख्न सकिन्छ।
थापाले नेपाली कांग्रेसले भावी जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि ‘लिडरसिप एकेडेमी’ स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए। उनले उक्त कार्यक्रमअन्तर्गत तयार गरिने पाठ्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी अध्ययनलाई पनि समावेश गरिने बताए। भविष्यमा पालिका प्रमुख, मेयर वा वडाध्यक्षजस्ता जिम्मेवारीमा पुग्ने व्यक्तिहरूलाई विपद् जोखिम व्यवस्थापनबारे पर्याप्त ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले विशेष अध्ययन सामग्री राखिने उनको भनाइ थियो। त्यसैगरी, उनले नेपाली कांग्रेसको ठूलो संगठनात्मक सञ्जाललाई विपद् जोखिम न्यूनीकरण र जनचेतना विस्तारका लागि उपयोग गर्न सकिने बताए। पार्टीका लाखौं सदस्यमार्फत देशभर विपद्सम्बन्धी सचेतना फैलाउन सकिने उनको विश्वास छ। थापाले विपद् व्यवस्थापनलाई केवल सरकारी निकायको जिम्मेवारीका रूपमा नभई राजनीतिक दल, जनप्रतिनिधि र समुदायको साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता पनि औँल्याए।