काठमाडौँ। भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआई का सह–संस्थापक डा। प्रत्यूष कुमारले नेपालले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमा ढिलाइ गर्न नहुने सुझाव दिएका छन्।
नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री ९एनआईसीसीआई०ले नेपालस्थित भारतीय दूतावासको सहकार्यमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले एआईले विश्व अर्थतन्त्र, उद्योग र शासन प्रणालीमा तीव्र परिवर्तन ल्याइरहेको भन्दै नेपालजस्ता उदीयमान अर्थतन्त्रले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार नेपालले दीर्घकालीन रूपमा आफ्नै एआई क्षमता विकास गर्नुपर्ने र त्यसका लागि नेपाल–भारतबीच प्रविधि तथा ज्ञान आदान–प्रदान आवश्यक छ। डा. कुमारले सरकार, निजी क्षेत्र, शिक्षाविद् र प्रविधि क्षेत्रका सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एआईको उपयोगमार्फत उत्पादकत्व, उद्यमशीलता र आर्थिक रूपान्तरण सम्भव हुने बताए।
कार्यक्रममा उनले नेपालमा डाटा सेन्टर सञ्चालन जटिल प्राविधिक विषय भएकाले प्रारम्भिक चरणमा दक्ष जनशक्ति विकास र तालिममा ध्यान दिनुपर्ने सुझाव पनि दिए। कार्यक्रममा नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री का प्रतिनिधि सुनील केसीले नेपाल र भारतबीच प्रविधि–आधारित सहकार्यलाई विस्तार गर्नुपर्नेमा जोड दिए। त्यस्तै, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखर र नेपाल विश्वविद्यालय का कुलपति डा। बिन्दुनाथ लोहनीले पनि कार्यक्रममा एआई, डिजिटल पूर्वाधार, प्रतिभा विकास र नवप्रवर्तनमा सहकार्य बढाउनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा सहभागी वक्ताहरूले एआई प्रविधिलाई नेपालको आर्थिक विकास र क्षेत्रीय नवप्रवर्तनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।