काठमाडौँ। सरकारले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आवश्यक कूटनीतिक पहल अघि बढाइने जनाएको छ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल ले यस विषयमा परराष्ट्र मन्त्रालय ले आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। उनले सुस्ता क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो भूमि संरक्षणका लागि देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै सीमासम्बन्धी विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। शुक्रबार सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए।
सीमा क्षेत्रमा भएको उक्त घटनापछि केही समय तनावको अवस्था सिर्जना भएको बताइएको छ। यसैबीच, प्रतिनिधिसभा बैठकमा पनि उक्त विषय उठेको थियो। सांसद हर्क साम्पाङ ले नेपाली भूमिमा विदेशी सुरक्षाकर्मी प्रवेश गरेको विषयमा सरकारको धारणा माग गर्दै संसद्मा प्रश्न उठाएका थिए। उनले यस विषयमा रक्षामन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए। सरकारले घटनाबारे आवश्यक जानकारी संकलन गरी कूटनीतिक माध्यमबाट आवश्यक कदम चाल्ने जनाएको छ।