काठमाडौँ । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको छ।
शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ को बुच्चाकोट क्षेत्रमा भएको दुर्घटनामा सात जनाले घटनास्थलमै ज्यान गुमाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनालगत्तै स्थानीयवासी, प्रहरी र अन्य सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। बसमा सवार अन्य यात्रुहरू पनि घाइते भएको अनुमान गरिए पनि घाइतेको यकिन संख्या अझै सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार मृतकहरूको पहिचान खुल्ने क्रम जारी छ भने दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ। बस सडकबाट तल खसेपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोलीले उद्धार, उपचार व्यवस्थापन तथा आवश्यक अनुसन्धानलाई तीव्रता दिएको छ। मृतक र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।