काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह ले वर्तमान सरकार सुशासन र सुधारको उद्देश्यका साथ गठन भएको भन्दै विगतदेखि कार्यान्वयन हुन नसकेका महत्वपूर्ण नीति तथा प्रतिवेदनहरू लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रियसभा सम्बन्धी नीति–२०७४ र सार्वजनिक गुठी जग्गासम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताए। सिंहले राष्ट्रियसभा सम्बन्धी नीति २०७४ कुनै पनि सरकारले लागू गर्न नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राखे। यस्तै, सरकारी तथा सार्वजनिक गुठी जग्गाको अवस्थाबारे अध्ययन गर्न गठन गरिएको आयोगले तयार पारेको प्रतिवेदन मन्त्रालयमै सीमित रहेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजान आवश्यक रहेको बताए। उनले पूर्वन्यायाधीश मोहनरमन भट्टराई नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनमा देशका विभिन्न स्थानका सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणका विषय समेटिएको दाबी गर्दै त्यसबारे थप कदम नचालिएको टिप्पणी गरे। सिंहले प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक कारबाही र सुधारका काम अघि बढाउन सरकारसँग माग गर्दै सुशासनको प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने बताए।