काठमाडौँ। नेकपा एमालेका सांसद गुरुप्रसाद बराल ले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको नेपाल–भारत सीमासम्बन्धी भनाइबारे प्रधानमन्त्री स्वयंले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल–भारतबीच १ हजार ८८० किलोमिटर खुला सीमा रहेको र ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको स्मरण गराए। प्रधानमन्त्रीले संसदमा ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले उक्त भनाइ अभिलेखबाट सच्याउनुपर्ने माग गरे। बरालले संसदमा अभिलेख हुने विषय ऐतिहासिक दस्तावेजका रूपमा रहने भएकाले त्यसबारे स्पष्टता आवश्यक रहेको बताए। परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण पर्याप्त नभएको भन्दै उनले प्रधानमन्त्रीकै भनाइ भएकाले त्यसको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्ने धारणा राखे।
उनले नेपाल–भारत सीमासम्बन्धी विवाद, विशेषगरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए। यी विवाद समाधानका लागि कूटनीतिक पहललाई तीव्र बनाउनुपर्ने उनको भनाइ थियो। सांसद बरालले चीन भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलले त्रिदेशीय सीमा बिन्दुको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने सुझाव दिए। नेपालको ऐतिहासिक दाबी, तथ्य र प्रमाणलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न सरकार सक्रिय हुनुपर्ने उनको जोड थियो।