काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल–भारत सीमा क्षेत्रमा देखिएका गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि आफूले विरोधस्वरूप प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको बताए। साम्पाङले वर्तमान रक्षा मन्त्रीको उपस्थितिबारे प्रश्न उठाउँदै सभामुखमार्फत उनलाई संसदमा बोलाउन आग्रह गरे। उनले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का अधिकारीहरूले नेपाली नागरिकमाथि दबाब सिर्जना गरेको तथा स्थानीयवासी आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत देखिएका भिडियोहरू सार्वजनिक भएको उल्लेख गरे।
उनले सरकार र रक्षा मन्त्रालयले उक्त घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सीमा क्षेत्रमा देखिएका समस्याबारे स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे।प्रधानमन्त्री संसदमा अनुपस्थित रहेको अवस्थामा रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराएर सीमाको अवस्थाबारे जानकारी दिन र आवश्यक कदमबारे स्पष्ट पार्नुपर्ने उनको माग थियो। साम्पाङले सुस्ता क्षेत्रको अवस्थाबारे सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै नेपाली भूमिको सुरक्षा र संरक्षणका लागि प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याए।