काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विद्युत् उत्पादनसँगै प्रसारण, व्यापार र औद्योगिकीकरणमा निजी क्षेत्रको भूमिका थप विस्तार गर्ने नीति सरकारले अघि बढाएको बताए ।
मन्त्री श्रेष्ठले नेपाल अहिले ऊर्जा क्षेत्रको रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको बताए । उनले विद्युत् व्यापार र प्रसारणलाइन निर्माणमा निजी क्षेत्रको सहभागिताका लागि मार्ग प्रशस्त गरिएको प्रस्ट पारे । ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाइने उनको भनाइ छ ।
उनले सुशासन, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप कार्ययोजना अघि बढाएको जानकारी दिए ।