धनगढी । कैलालीको गोदावरी नगरपालिकामा बाढीमा बगेर दुई जना महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नं. ४ मा आएको आकस्मिक बाढीमा परी स्थानीय दुई महिलाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृत्यु हुनेहरूमा गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद रहेका छन्।
शुक्रबार बिहान धान रोप्ने र बर्खाको समयमा जङ्गलमा प्राकृतिक रूपमा उम्रिने च्याउ खोज्नका लागि उनीहरू नजिकैको जङ्गलतर्फ गएका थिए। सोही क्रममा स्थानीय नदी तर्ने क्रममा अचानक आएको बाढीले उनीहरूलाई बगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बाढीले बगाएर बेपत्ता भएका उनीहरूको खोजी गर्ने क्रममा स्थानीय गोदावरीस्थित वनदेवी मन्दिरको पछाडि नदी किनारमा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ। वर्षायाम सुरु भएसँगै पहाडी र तराईका खोला तथा नदीहरूमा आकस्मिक बाढी आउने खतरा बढेकाले नदी तटीय क्षेत्र र जङ्गल जाँदा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।