बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा विद्यालयको सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा सुरक्षामा खटिएका प्रहरीमाथि नै धारिलो हतियार (दाउ) प्रहार भएको छ। बैजनाथ गाउँपालिका–६ एच गाउँस्थित ईश्वरी माध्यमिक विद्यालयको जग्गा खाली गराउने क्रममा प्रहरीमाथि आक्रमण भएको हो।
उक्त सरकारी जग्गामा अवैध रूपमा घरटहरा निर्माण गरी बस्दै आएकी अन्दाजी ३६ वर्षीया साबित्री कुमारी शाहीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेकी हुन्। शाहीको प्रहारबाट प्रहरी चौकी सम्झना, बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिल कुमार चौधरी घाइते भएका छन्। हतियार प्रहारबाट प्रहरी हवल्दार चौधरीको दाहिने काँध पछाडिको भागमा सामान्य निलडाम देखिएको र उनको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ।
विद्यालयको स्वामित्वमा रहेको सरकारी जग्गा खाली गर्नका लागि गाउँपालिकाले यसअघि पटक–पटक सूचना जारी गरी आग्रह गरेको थियो। तर, स्थानीयले अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको मिति २०८३ जेठ २७ गतेको पत्रका आधारमा बुधबार अतिक्रमित संरचना र घरटहरा हटाउने कार्य अघि बढाइएको थियो। सोही क्रममा आत्मघाती रूपमा प्रहरीमाथि आक्रमण भएको हो।
घटनालगत्तै खटिएको अतिरिक्त सुरक्षाकर्मीको टोलीले प्रहरीमाथि आक्रमण गर्ने साबित्री कुमारी शाहीलाई प्रहार गरिएको धारिलो हतियार (दाउ) सहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकी शाहीलाई हिरासतमा राखी सरकारी काममा बाधा पु¥याएको र कर्तव्य ज्यान उद्योग कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।