काठमाडौँ । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रतिपक्षको आन्दोलन र मागहरू यथावत रहेको स्पष्ट पार्दै बजेटमाथिको छलफल सञ्चालन गर्न मात्रै संसद्मा सहजीकरण गरिएको बताएका छन्।
बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्ष आफ्नो अडानबाट पछि नहटेको उल्लेख गरे। उनका अनुसार बजेटसम्बन्धी संवैधानिक प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले मात्र संसद् सञ्चालनमा सहयोग गरिएको हो। सांसद राईले अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बजेटसँग सम्बन्धित विवादबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पुनः दोहोर्याए। उनले सुरुमा अर्थमन्त्रीबाट प्रभावकारी र जनमुखी बजेटको अपेक्षा गरिएको भए पनि बजेट सार्वजनिक भएपछि ती अपेक्षा पूरा हुन नसकेको टिप्पणी गरे। बजेटका केही पक्षबारे प्रश्न उठाउँदै उनले त्यसबारे स्पष्ट छानबिन आवश्यक रहेको बताए। राईले प्रतिपक्षका माग सम्बोधन नभएसम्म आफ्नो आन्दोलन जारी रहने संकेत पनि दिएका छन्।