काठमाडौँ । फिफा विश्वकप २०२६ को माहोल विश्वभर तातिरहेका बेला नेपालका राजनीतिक नेता तथा जनप्रतिनिधिहरूले पनि आफूले समर्थन गर्ने टोली र खेलाडीबारे धारणा सार्वजनिक गरेका छन्।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए। उनले आफूलाई रोनाल्डो मन पर्ने भएकाले उनको टोलीलाई समर्थन गर्ने उल्लेख गरे। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले फुटबलबारे धेरै जानकारी नभएको बताए। उनले आफू खेलकुदभन्दा राजनीतिमा बढी रुचि राख्ने व्यक्ति भएको उल्लेख गर्दै ठट्टाकै शैलीमा अहिलेको ‘सुपरस्टार खेलाडी’ रवि लामिछाने भएको टिप्पणी गरे।
नेकपा एमालेका नेता ऐन महरले भने आफू लामो समयदेखि फुटबलको नियमित दर्शक रहेको बताए। करिब तीन दशकदेखि फुटबल हेर्दै आएको उल्लेख गर्दै उनले विश्वकपमा सहभागी सबै टोलीलाई शुभकामना व्यक्त गरे। महरले आफ्नो समर्थन परम्परागत रूपमा ब्राजिललाई रहने बताए। साथै उनले लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारजस्ता खेलाडीहरूले विश्व फुटबलमा ठूलो योगदान दिएको उल्लेख गर्दै वर्तमान पुस्ताका प्रतिभाशाली खेलाडी लामिन यामालको प्रदर्शन पनि प्रशंसनीय रहेको बताए। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पनि आफ्नो समर्थन पोर्चुगललाई रहने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले यसपटकको आफ्नो रोजाइ पोर्चुगल र रोनाल्डो रहेको उल्लेख गरेका छन्। फिफा विश्वकप २०२६ सुरु हुन लागेसँगै नेपालमा पनि फुटबलप्रेमीमाझ उत्साह बढ्दै गएको छ। सर्वसाधारण मात्र होइन, राजनीतिक नेतृत्वले समेत आफ्नो मनपर्ने टोली र खेलाडी सार्वजनिक गर्न थालेका छन्। प्रतियोगिताको उद्घाटन खेल आयोजकमध्ये एक मेक्सिको र दक्षिण अफ्रिकाबीच नेपाली समयअनुसार राति १२ः४५ बजे हुने तालिका छ।