काठमडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले आर्थिक विधेयक र करका दरमा गरिएको परिवर्तनबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा सहभागी हुँदै राईले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा कार्यकारी निर्णयमार्फत फेरबदल गरिएको भन्दै आपत्ति जनाए। उनले यस्तो कार्य संवैधानिक व्यवस्था र संसदीय अभ्यासविपरीत रहेको दाबी गरे। राईले संसद्मा प्रस्तुत भइसकेपछि कुनै पनि विधेयक संसद्को सम्पत्ति बन्ने भएकाले त्यसमा एकपक्षीय रूपमा संशोधन वा हेरफेर गर्न नमिल्ने बताए। उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनको आधार र उद्देश्यबारे स्पष्ट जवाफ दिन अर्थमन्त्रीलाई आग्रह गरे।
संसद्मा पेश भइसकेको विधेयकलाई कार्यकारी निर्णयबाट किन र कसको स्वार्थमा परिवर्तन गरियो ? यसको जवाफ आवश्यक छ, उनले भने। उनले संसद्बाटै टुंगो लगाउनुपर्ने विषयलाई बाहिरबाट परिवर्तन गर्नु संसदीय मूल्य–मान्यता विपरीत भएको जिकिर गरे। साथै, करका दरमा गरिएको फेरबदलबारे पनि प्रश्न उठाउँदै कसको दबाब वा प्रभावमा यस्तो निर्णय गरिएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। सचेतक राईले अर्थमन्त्रीलाई करका दर आफूखुशी परिवर्तन गर्ने अधिकार नभएको उल्लेख गर्दै यस विषयमा जवाफदेहिता आवश्यक रहेको धारणा राखे।