काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आगामी निर्वाचनलाई लक्षित गर्दै वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा रहेको समूहले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ।
‘परिवर्तनका लागि सहभागितामूलक, प्रतिनिधिमूलक र अनुभवी नेतृत्व’ भन्ने मूल नारासहित खतिवडा समूह निर्वाचन मैदानमा उत्रिएको हो। समूहले ऊर्जा क्षेत्रको विकाससँगै इप्पानको संस्थागत सुधार र सुशासनलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ।सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा इप्पानको विधान संशोधन तथा संस्थागत संरचनासम्बन्धी विषयलाई विशेष महत्व दिइएको छ। २३औँ साधारण सभाबाट महासंघीय संरचनामा रूपान्तरण गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउने निर्णय भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै समूहले असन्तुष्टि जनाएको छ।
संस्थागत निर्णयलाई कार्यान्वयन नगरी पुरानै विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै समूहले इप्पानमा विधि, पारदर्शिता र सुशासन स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ऊर्जा उत्पादन विस्तारका लागि सरकारले अघि सारेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा सहकार्य गर्ने समूहको योजना छ। साथै, नेपाल विद्युत् प्राधिकरणमा रोकिएका १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ। यस्तै, विद्युत् तथा जलस्रोतसम्बन्धी कानुनलाई निजी क्षेत्रमैत्री बनाउन पहल गर्ने, बैंक तथा वित्तीय संस्थाको ऊर्जा क्षेत्रमा लगानी बढाउन दबाब दिने तथा ऊर्जा आयोजनामा देखिएका वित्तीय समस्याको समाधानका लागि पहल गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।
इप्पानको आन्तरिक व्यवस्थापन सुधारका लागि सदस्य कम्पनीका गुनासा र समस्या सम्बोधन गर्न हेल्प डेस्क स्थापना गर्ने, ऊर्जा पत्रकारहरूको क्षमता विकासमा सहयोग गर्ने तथा आगामी तीन वर्षभित्र संस्थाको आफ्नै भवन निर्माण गर्ने लक्ष्य समूहले अघि सारेको छ। निर्माण सम्पन्न आयोजनाहरूको व्यक्तिगत जमानत स्वतः फुकुवा हुने व्यवस्था मिलाउने र बीमा प्रिमियमसम्बन्धी जटिलता समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि समूहले जनाएको छ। खतिवडा नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा स्वयं खतिवडा उम्मेदवार रहेका छन्। उपाध्यक्षमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल र सिर्जना खड्का रहेका छन्। त्यस्तै, महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवमा कृष्णप्रसाद घिमिरे, तारा बहादुर इस्वो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ तथा कोषाध्यक्षमा मिथुन पौडेल उम्मेदवार छन्। सोमनाथ कँडेल, डा. भूषण गुरागाईंलगायत २३ सदस्यीय टोलीसहित खतिवडा समूह निर्वाचन प्रतिस्पर्धामा उत्रिएको छ।