काठमाडौँ। भन्सार कर छली प्रकरणलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीमाथि संसदीय समितिमा गलत जानकारी दिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली सम्बन्धी विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको दाबी गर्दै तत्काल छानबिन गर्नुपर्ने माग गरे। उनका अनुसार सुशासनको पक्षमा आन्दोलन र छलफल भए पनि सरकारमा पुगेपछि जिम्मेवारी बिर्सिने प्रवृत्ति देखिएको छ। उनले अर्थमन्त्रीले समितिमा गएर गलत विवरण प्रस्तुत गरेको आरोपसमेत लगाए। यसैबीच, अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार अर्थ समितिको बैठकमा उपस्थित भई विनियोजित विधेयकमा कुनै परिवर्तन नगरेको र करका दरमा अनियमितता नगरेको दाबी गरेका थिए। उक्त विषयलाई लिएर अहिले राजनीतिक बहस चर्किँदै गएको छ।