विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले झन्डै साढे ९ क्विन्टल प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले ९ सय २२ किलो गाँजासहित एउटा पिकअप गाडी र स्कटिङमा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग, बिओपी नोचा र बिओपी तारेगामाको संयुक्त टोलीले गएराति जहदा गाउँपालिका वडा नं. ७ स्थित महादेवकोल इलाकामा यो अप्रेशन चलाएको थियो।
लक्ष्मनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा सुरक्षा फौजले फेला पारेको थियो। सशस्त्र प्रहरीको टोलीले पिछा गरेपछि पक्राउ पर्ने डरले पिकअप गाडी र मोटरसाइकलका चालकहरू सवारी साधन सडकमै छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त पिकअप गाडीलाई जाँच गर्दा भित्र धानको भुसको बोराले लुकाएर राखेको अवस्थामा २९ वटा ठूला पोकामा ९ सय २२ केजी गाँजा फेला परेको हो। बरामद गरिएको गाँजा, पिकअप गाडी र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभागले जनाएको छ। फरार तस्करहरूको खोजी कार्य तीव्र पारिएको छ।