प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ फेसबुक स्ट्याटसले फेरि तरंग सिर्जना गरेको छ। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले गरेको व्यंग्यात्मक टिप्पणी अहिले सत्ता, प्रशासन र सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको हो।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्–
“मलाई पनि राजदूत बन्न मन छ,
प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न ??”
प्रधानमन्त्रीको यो स्ट्याटसलाई धेरैले सचिव कृष्णहरि पुष्कर प्रकरणसँग जोडेर हेरेका छन्। केही दिनअघि नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले आफू छिट्टै अवकाशमा जान लागेको उल्लेख गर्दै राजदूतका लागि आवेदन दिन इच्छुक रहेको र त्यसका लागि आवश्यक निर्देशन दिन अनुरोध गर्दै प्रधानमन्त्रीलाई सन्देश पठाएका थिए।
तर, उक्त सन्देश सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा सचिव पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। एक वरिष्ठ सचिवमाथि गरिएको व्यवहारलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ। प्रशासनिक वृत्त, विपक्षी दल तथा सामाजिक सञ्जालमा सरकारमाथि शक्ति दुरुपयोग र असहिष्णुताको आरोप लागिरहेको छ।
यही विवाद कायमै रहेका बेला प्रधानमन्त्री शाहले फेसबुकमा गरेको व्यंग्यात्मक स्ट्याटसले बहसलाई झन् तातेको छ। प्रधानमन्त्रीको पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेललगायत सत्ता पक्षका नेताहरूले पनि ठट्यौली शैलीमा प्रतिक्रिया जनाएका छन्।
तर आलोचकहरूले भने संवेदनशील विषयमा प्रधानमन्त्री स्वयंले व्यंग्यात्मक शैली अपनाउनु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। राज्य संयन्त्र र उच्च प्रशासनिक पदसँग जोडिएको विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले पदको गरिमामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।