काठमाडौँ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ सफलतापूर्वक चौथो सातामा प्रवेश गरेको छ । नयाँ नेपाली फिल्महरू प्रदर्शन भइरहेका बेला पनि ‘लालीबजार’ले दर्शकमाझ आफ्नो आकर्षण कायम राख्न सफल भएको देखिएको छ ।
विशेषगरी पछिल्ला दिनमा परिवारसहित फिल्म हेर्न हल पुग्ने दर्शकको संख्या बढ्दै गएको निर्माण टिमले जनाएको छ । प्रदर्शनको सुरुदेखि नै दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै आएका कलाकार रवीन्द्रसिंह बानियाँका अनुसार सुरुमा धेरैले फिल्मको विषयवस्तु पारिवारिक दर्शकका लागि उपयुक्त नहोला भन्ने सोच राखेका थिए । उनले भने, “फिल्मको कानुनी पृष्ठभूमिका कारण धेरैले सुरुमा एक्लै हेर्न आउनुभएको रहेछ । पछि परिवारसँग पनि हेर्न मिल्ने र भावनात्मक कथा रहेछ भन्ने प्रतिक्रिया आएपछि अहिले परिवारसहित हल आउने क्रम बढेको छ ।” लेखक तथा निर्देशक यम थापाको निर्देशनमा बनेको यस फिल्मले १० करोडभन्दा बढी व्यापार गर्ने विश्वास निर्माण पक्षको छ ।
फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरेका छन् । विशेषगरी आमाको संघर्ष र पारिवारिक भावनालाई प्रस्तुत गरिएको शैलीले धेरै दर्शक भावुक बनेको प्रतिक्रिया दिएका छन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टाललगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका हुन् । विशाल थिएटर पृष्ठभूमिका कलाकार हुन् भने प्रशंसा जेनजी पुस्ताकी कलाकारका रूपमा परिचित छिन् । लालीबजार’को कथा तथा निर्देशन यम थापाले गरेका हुन् भने पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका छन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।