काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा कूल १ हजार ८०८ दरबन्दी स्वीकृत भएको छ ।
संगठन तथा व्यवस्थापन ओ एण्ड एम कार्य सम्पन्न भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उक्त दरबन्दी अन्तिम स्वीकृत भई मन्त्रालयमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल कायम रहेको ८३१ दरबन्दीमा थप ९७७ नयाँ दरबन्दी थपिएको छ । यससँगै मन्त्रालय अन्तर्गत कूल दरबन्दी संख्या १ हजार ८०८ पुगेको छ ।
स्वीकृत दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको मन्त्रालयले जनाएको छ ।
प्राप्त दरबन्दीअनुसार अब छिट्टै लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने मन्त्रालयको तयारी छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यो संरचना ‘संघीय पुल दरबन्दी’ अन्तर्गतको मात्र हो ।
सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने प्रदेश तथा स्थानीय तहमा निकट भविष्यमै ठूलो संख्यामा खुलाइने जनाइएको छ ।