काठमाडौं। देशका विभिन्न स्थानमा विगत २४ घण्टामा भएका विपद्का घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सार्वजनिक गरेको बुलेटिन अनुसार सो अवधिमा देशभर कुल ४७ वटा विपद्का घटना दर्ता भएका छन्।
प्राधिकरणका अनुसार यी घटनाबाट करिब रु ३ करोड ९६ लाख ३० हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । साथै ६ वटा चौपायाको समेत क्षति भएको छ भने कुनै सडक अवरोध वा व्यक्ति बेपत्ता भएको विवरण नरहेको जनाइएको छ ।
सबैभन्दा बढी घटना हावाहुरीका कारण भएका छन् । १५ जिल्लामा २२ वटा हावाहुरीका घटनामा १ जनाको मृत्यु भएको छ । त्यसैगरी, ३ जिल्लामा ६ वटा सर्पदंशका घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।
लेक लाग्ने घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ९ जिल्लामा १२ वटा आगलागीका घटना भएका छन्, जसमा मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ । त्यस्तै १–१ वटा वन डढेलो, चट्याङ, अविरल वर्षा र पहिरोका घटना पनि दर्ता भएका छन् ।