काठमाडौँ । विपन्न नागरिक औषधि उपचार सेवाअन्तर्गत सबैभन्दा बढी क्यान्सरका बिरामीले सुविधा लिएको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणअनुसार चालु आवको फागुन मसान्तसम्म १९ हजार १९ जना क्यान्सरका बिरामीले उक्त सेवा उपयोग गरेका छन्।
क्यान्सरपछि मिर्गौलासम्बन्धी रोगका बिरामीले बढी सेवा लिएका छन्। यसअन्तर्गत १० हजार ३ सय जनाले उपचार सुविधा पाएका छन् भने २०४ जनाले मिर्गौला प्रत्यारोपणका लागि सरकारी सहयोग लिएको उल्लेख छ। त्यसैगरी ५ हजार ४१३ जना मुटुरोगीले पनि विपन्न उपचार सेवा उपयोग गरेका छन्। पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिकलसेल एनिमियाका बिरामीहरूले पनि उक्त सेवा लिएका छन्। सरकारले मिर्गौला रोगका लागि निःशुल्क हेमोडायलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ।
मिर्गौला प्रत्यारोपणका लागि ७ लाख ५० हजार रुपैयाँसम्म सहयोग र मासिक जीवन निर्वाह भत्ता पनि दिने व्यवस्था छ। त्यस्तै क्यान्सर, मुटुरोग, पार्किन्सन्स लगायत आठ प्रकारका जटिल रोगमा स्वास्थ्य बिमा र विपन्न सुविधामार्फत तीन लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराइँदै आएको छ। सरकारले अब विपन्न उपचार सेवा लिन स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था पनि लागू गरेको जनाएको छ।