काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको भदौ २३–२४ को आन्दोलनसम्बन्धी प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण, अस्पष्ट र अपर्याप्त रहेको पहिलेदेखि नै कांग्रेसको धारणा रहेको उल्लेख गरिएको छ। मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले पनि उक्त कमजोरी पुष्टि गरेको दाबी गरिएको छ। विज्ञप्तिमा आयोगले जाँचबुझ आयोगका अध्यक्षमाथि समेत प्रश्न उठाएको भन्दै प्रतिवेदन निष्पक्ष नभएको शंका थप बलियो भएको कांग्रेसले जनाएको छ। साथै निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नहुनुमा नियोजित उद्देश्य हुन सक्ने आशंका पनि व्यक्त गरिएको छ।
कांग्रेसले प्रारम्भिक चरणमा आन्दोलन संविधानप्रदत्त शान्तिपूर्ण विरोधसँग सम्बन्धित भए पनि पछि हिंसा, आगजनी, लुटपाट र तोडफोडमा रूपान्तरण भएको उल्लेख गरेको छ। त्यसैगरी हिंसात्मक गतिविधिमा संलग्न भएको आशंकामा रहेका व्यक्ति तथा जिम्मेवार पदाधिकारीमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही गर्नुपर्ने आयोगको निष्कर्षलाई गम्भीर रूपमा लिनुपर्ने बताइएको छ। कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने जोसुकैमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेको छ। साथै राज्य संयन्त्रको कमजोरी र सुरक्षा निकायको अत्यधिक बल प्रयोगबारे पनि निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेको छ। सरकारले आयोगका सिफारिस कार्यान्वयन गर्नुपर्ने, घाइते र पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने र सुरक्षा निकायमा सुधार गर्नुपर्ने पनि कांग्रेसको माग छ।