काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि अनुसार तत्काल मूल्य समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।
महासंघले निर्माण उद्योग अहिले इन्धन र सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण गम्भीर संकटमा परेको भन्दै यस क्षेत्रका व्यवसायीहरूले ठूलो आर्थिक तथा मानसिक दबाब झेलिरहेको जनाएको छ। विज्ञप्तिमा निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २० लाखभन्दा बढीलाई रोजगारी दिँदै आएको र सरकारको पूँजीगत खर्चको ठूलो हिस्सा यही क्षेत्रमा हुने उल्लेख गरिएको छ।
तर पछिल्लो समय निर्माण सामग्री र इन्धनको मूल्य तीव्र रूपमा बढेपछि निर्माण कार्य ठप्प हुने अवस्था आएको महासंघको भनाइ छ। विशेषगरी डिजेल र बिटुमिनको मूल्य उल्लेख्य रूपमा बढेको कारण निर्माण लागत असह्य बनेको बताइएको छ। महासंघले मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूलाई करिब १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भइसकेको दाबी गर्दै सरकारलाई तत्काल समाधान खोज्न आग्रह गरेको छ।