काठमाडौँ । अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ। क्यान्सर रोगसँग लामो समयदेखि संघर्ष गरिरहेका उनको बुधबार निधन भएको हो। सन् २००६ तिर पहिलो पटक पर्यटकका रूपमा नेपाल आएका स्कट यहाँका ग्रामीण क्षेत्रका मानिसहरूको गरिबी, कमजोर स्वास्थ्य अवस्था र विशेषगरी महिलाहरूको संघर्ष देखेपछि गहिरो रूपमा प्रभावित भएका थिए।
त्यसपछि उनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउने उद्देश्यले ‘द माउन्टेन फन्ड’ नामक गैरसरकारी संस्था स्थापना गरे। उक्त संस्थामार्फत उनले ओखलढुङ्गा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण तथा स्वास्थ्य चौकी निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए। २०७२ सालको विनाशकारी भूकम्पका बेला उनले धादिङ र सिन्धुपाल्चोकका दुर्गम गाउँमा पुगेर उद्धार, राहत वितरण, अस्थायी आवास निर्माण तथा घाइतेहरूको उपचारमा सक्रिय सहयोग गरेका थिए।
कुशल फोटोग्राफरका रूपमा उनले नेपालका हिमाल, संस्कृति र नेपाली जनजीवनलाई तस्बिरमार्फत विश्वसामु चिनाउने काम पनि गरेका थिए। उनलाई नेपाल र नेपालीप्रति आत्मीय प्रेम राख्ने सच्चा अमेरिकी समाजसेवीका रूपमा चिनिन्छ। उनी भौगोलिक रूपमा अमेरिकी नागरिक भए पनि उनको मन र कर्म सधैँ नेपाली माटोसँग जोडिएको थियो। उनको स्मृतिमा बिहीबार दिउँसो १ बजे “सेलिब्रेसन अफ लाइफ” कार्यक्रम आयोजना गरिने उनकी श्रीमतीले जानकारी दिएकी छन्।